चिल्लो र गुलियोको गन्थन

फाल्गुन २६, २०७४

डा. राजेन्द्र कोजु

‘ए गुलियो, आज त तेरो चुरीफुरी निक्कै छ त, कुरो के हो ?’‘हुन्न त चुरीफुरी ? मैले मिठो पारिदिएको खानेकुराको स्वाद आजको भोजमा सबैले लिने भए, त्यसैले ।’‘तँलाई त लास्टमा खान्छ । यहाँ त मेरो प्रयोग पो बेसी छ त ।’

‘तेरो त भोजमा सुरुदेखि अन्त्यसम्मै काम छ नि ।’

बिहेभोजको पार्टीमा पाहुनाहरू हातहातमा गिलास लिएर खानेकुराका विभिन्न परिकार खाँदैछन् । बेहुला–बेहुली स्टेजमा बधाई लिन ब्यस्त छन् । उता बेहुलाका आफन्तहरू पाहुनाहरूलाई स्वागत गर्न ब्यस्त । म्युजिक एकातिर बज्दैछ, मानिसहरू विभिन्न गफ गर्दै खानमा मस्त ।

खानेकुराका महत्त्वपूर्ण तत्त्व गुलियो र चिल्लो भने आफ्नै गन्थनमा मग्न । उनीहरूलाई रमाइलो पनि लागिराखेको छ, संँगै चिन्ता पनि । चिल्लो भन्छ, ‘हो नि, सुरु म भएका परिकारबाट । तारेको आलुमा म, पकौडालाई मै चाहिन्छ, चिकेन फ्राइमा मै, मममा मै, पनिर, तेम्पुरामा मै, अनि त ?’

‘यत्ति धेरै सेवन गर्छ, तँलाई ?’ गुलियो अच्चम्म मान्छ ।

‘गर्छन् नि खन्चुवाहरू, स्वादे जिब्रो भइन्जेल । चिल्लोको मात्रा मान्छेको शरीरको लागि खानेकुराको थोरैमात्र भाग भए पुग्छ नि । तर धेरै खान्छन् ।’

‘अझ रक्सी खाएपछि कति खान्छन् होला है ?’

‘ओहो कसैले त एक ज्यानलाई २ दिनलाई पुग्ने खाना एकै भोजमा भ्याइदिन्छन् । अनि मेरो मात्रा बढेन त ? अनि भुँडी हेर न फुट्ला जस्तो ।’

जेरीको गुलियो र हलुवाको चिल्लोबीच यस्तै कुराकानी चल्दै थियो । एक हुल केटाकेटी आइसक्रिममा झुम्मिए ।
गुलियो जेरी, हलुवा, लालमोहनमा पनि लाइन त्यत्तिकै थिए ।

‘यी मान्छेहरूलाई थाहा छ कि छैन, हाम्रो सेवन धेरै गर्‍यो भने राम्रो हुन्न भन्ने ?’

‘सबैलाई थाहा छ नि थोरै खानुपर्छ भनेर, तर मान्छे लोभी के, स्वादको ।’

‘अनि स्वादको लोभ गरेर हुन्छ त ? चिल्लो धेरै खायो भने त पेट, कलेजो, रक्तनलीमा बोसो जमेर स्वास्थ्यमै नराम्रो असर पर्छ नि होइन र ?’

‘हो नि आवश्यकताभन्दा धेरै खाएपछि कहाँ बस्ने म ? त्यही पेटमा जम्ने हो, रक्तनलीमा लेउजस्तै टाँस्सिएर बस्छु, त्यस्तै कलेजो, मांशपेसीमा । अनि मात्रा धेरै भएपछि रक्तनली साँघुरो हुँदै जान्छ ।’

‘रक्तनली साँघुरो भएको मान्छेलाई थाहा हुँदैन त ?’

‘साँघुरो होइन्जेल थाहा नपाउन सक्छ । मुटुको रक्तनली धेरै नै साँघुरिएको छ भने उकालो हिँड्दा, खेल्दा, शारीरिक कठिनाइको काम गर्दा छाती भारी हुने, दुख्ने हुनसक्छ ।’

‘अनि थाहै नहुने भएपछि खाइहाल्छन् नि चिल्लो ।’

‘त्यसैले त रक्तनली सांँघुरिंँदासम्म थाहा पाउँदैनन्, अनि एक्कैपल्ट बन्द भएपछि हृदयाघात भएर लान्छन् त अस्पतालमा । ठूलै रक्तनली वा २, ३ वटा रक्तनली एकैपल्ट बन्द भयो भने त डाक्टरको, अस्पतालको, कसैको केही लाग्दैन । मुटु नै बन्द हुनसक्छ ।’

गुलियो चित खायो, चिल्लोको कुरा सुनेर । हेर्दा यस्तो मिठो, नरम कसैलाई केही नबिगार्ला जस्तो चिल्लो त बढो खतरनाक पो रहेछ भनेर ।

‘अनि तँलाई यस्तो मिठो मानीमानी खाइराख्दा कस्तो–कस्तो लाग्दैन त ?’

‘धेरै नखाओस् जस्तो लाग्छ नि । मेरो कारणले हृदयाघात, मस्तिष्कघात, मिर्गाैलाको रोग, कलेजोको रोग, मृत्यु भएको त मलाई पनि मन पर्दैन नि ।’ दिक्क मान्छ, चिल्लो । ‘थोरै ठिक्क मात्रामा खाँदा त गुनिलो हुँ नि म पनि । अलि धेरै खाए पनि पचाउन कसरत गर्नुपर्‍यो ।’

‘दया गरेर भए पनि तेरो उपस्थिति यहाँ धेरै नजनाउ यार’, गुलियो विन्ती गर्छ, चिल्लोसंँग ।

‘मलाई पनि त्यस्तै लाग्छ, तर यिनीहरू नै पापी के ? खानेले पनि मासु कति परिकार छ, स्न्याक्स कति छ भनेर खोज्छन् । ख्वाउनेले पनि प्रतिस्पर्धा जस्तै देखाउनकै लागि भए पनि धेरै परिकार राख्छन् । अनि मेरो मात्रा बढिहाल्छ्र ।’
‘हो नि अलि थोरै परिकार भयो भने फलानाको भोज तछ्या भन्छन् ।’

‘त्यसैले धेरै ख्वाउनुपरेपछि शुद्ध चिल्लोमात्र भेट्दैन, अनि जे पायो त्यही अखाद्य पनि मिलाइदिन्छन् । कहिलेकाहीं त एकदिन अघिको तेल अर्को दिन पनि प्रयोग गर्न बेर लाउँदैन । त्यसले अति नराम्रो गर्छ ।’

‘हैट, यस्तो कुरा त सबैलाई थाहा दिनुपर्‍यो यार’, गुलियो आत्तिन्छ ।

‘थाहा छ यिनीहरूलाई, तैपनि खान्छन् के, बिहानैदेखि खाएको बेलुकासम्म जोड्दा चाहिनेभन्दा धेरै खान्छन्, अनि मिठोको लागि चिल्लो प्रयोग गरिहाल्छन् । तेलमा पनि मै, घ्यु पनि मै, बटर, चिज, बोसो, मासु, मिठाइ सबैमा म नभई हुँदैन । बजारका तयारी खानेकुरामा पनि अति आवश्यक, भोजमा मात्र होइन, अरू बेला पनि धेरै खान्छन् के मलाई ।’

गुलियोले मासुको परिकार भएतिर औंला तेस्र्याउँदै भन्यो, ‘ऊ हेर–हेर ती मान्छेहरू बनेल र सेकुवामै झुम्मिरा’छन् । एक जनाले त ५ पल्ट थपिसक्यो ।’

‘त्यस्तै हो, जिब्रोले स्वाद पाउन्जेल न भुँडी भरेको थाहा पाउँछन्, न यसको नकारात्मक असर ख्याल राख्छन् ।’

‘भन्दे न त के गर्ने भनेर त्यसो भए,’ गुलियोलाई साहै्रमाया लाग्यो ।

भिँmझो मान्दै चिल्लो ‘थाहा छ, सबैलाई सागसब्जी, फलफूल, बोक्रै सहितका अन्नपात, पानी धेरै खानुपर्छ भनेर । तर व्यहोरा उल्टा । पानीको सट्टा कोल्ड ड्रिंक्स, बिएर, वाइन, सोडा, ह्विस्की । अनि सागसब्जी, फलफूलको सट्टा मासु, दूधकै परिकार, चिल्लोयुक्त खानेकुरा थाहा छ ? यिनीहरू उभिएर पनि खाँदैनन् भन्या, बस्नुको सट्टा उभिए पनि केही त पच्ने थियो ।’

छक्क पर्दै गुलियो ‘मासु नखानेले त थोरै सेवन गर्लानि तंँलाई ?’

‘कहाँ हुनु ? तारेको पनिर, भेजिटेबल टेम्पोरा, पकौडा, आलु फ्राइ, मोमो आदि छ नि । यी सबै तार्ने तेल त कतिपटक प्रयोग गर्छ्र, तेललाई धेरै डढायो वा फेरिफेरि प्रयोग गर्‍यो भने पनि हानिकारक हुन्छ नि । साथसाथै जेरी, हलुवा, रसबरी, लालमोहन, केक, आइसक्रिम सबै खाइहाल्छन् नि ।’

‘ए हो नि ।’

चिल्लो र गुलियोको यस्तै कुरा भइराख्दा खाना पकाउने, बाँड्ने, खाइसकेको प्लेट उठाउने सबैको चाहिँ फुर्सद नै थिएन । विस्तारै पाहुनाहरू पनि घट्दै गए ।

‘अनि गुलियो तेरो कुराचाहिँ नसुनाउने ?’

‘तेरै कुरा महत्त्वपूर्ण रहेछ, अझै सुनौं–सुनौं लाग्ने, मेरो कुरा कहिले सुनाउने ?’

‘तेरो पनि कति महत्त्वपूर्ण छ नि, मलाई अलिअलिथाहा छ ।’

‘हुन्छ, तर आज होइन, कुनै दिन भन्छु नि ।’

गुलियो र चिल्लोको कुरा सुनिरहनेसँग भने गज्जबले हाँसे ।
प्रकाशित : फाल्गुन २६, २०७४ ०७:३१

Comments

Popular posts from this blog

सरल र सुलभ स्वास्थ्यसेवा कहिले ?

चुरोट ठूलो कि रक्सी ?