सरल र सुलभ स्वास्थ्यसेवा कहिले ?

सरल र सुलभ स्वास्थ्यसेवा कहिले ? – डा. राजेन्द्र कोजु


आज कोही बिरामी भयो भने उपचारका लागि आवश्यक अस्पताल वा क्लिनिकको उपलब्धता सजिलो भएको छ । पहिलेजस्तो वीर अस्पताल वा शान्त भवन नै पुग्नुपर्ने बाध्यता छैन । तर ती अस्पताल वा क्लिनिकहरू कतिको गुणस्तरीय र सुलभ छन् भन्ने प्रश्न उठ्छ । अस्पताल जाँदा आवश्यकताभन्दा बेसी अनुसन्धान, जस्तै- ब्लड टेष्ट, एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान आदि गराइएको सुन्नमा आउँछ । आवश्यक इन्भेष्टिगेसन चिकित्सा विज्ञान विकासको ठूलो देन हो भने अनावश्यक ‘टेष्ट’ आर्थिक तथा शारीरिक रूपमै पनि नोक्सान हो । बिरामीलाई फाइदा पुग्नेभन्दा सेवाप्रदायकलाई फाइदा पुग्ने अनुसन्धान बेसी हुँदा मेडिकल प्राक्टिसको मूल्य-मान्यतामा प्रश्न उठ्छ । आजभोलि सहरी क्षेत्रमा धेरै निजी अस्पताल, क्लिनिकहरू खुलेका छन् । सरकारी, शिक्षण संस्थासँग सम्बन्धित स्वास्थ्यकेन्द्र र अस्पतालबाट मात्र जनतालाई स्वास्थ्यसेवा प्रदान गर्न नपुग अवस्थामा त्यस्ता निजी अस्पताल खोलिनु आवश्यकता नै हो । यस्ाबाट जनतालाई सेवा नै भएको छ । तर निजी रूपमा खोल्नु लगानी गर्नु हो, अनि लगानी गर्नुको अर्थ त्यसबाट प्रतिफल खोज्नु हो । जब प्रतिफलको आवश्यकता र आकांक्षा अलि तीव्र हुन्छ, तब बिरामीको सेवामा सम्झौता हुन्छ, अनि अनावश्यक परीक्षणहरू गरेर पैसा असुल्ने काम हुन्छ । आज कतिपय ठाउँमा चिकित्सकले परीक्षणका लागि बिरामी पठाउँदा कमिसन लिन्छन् । के चिकित्सकले कमिसन लिन मिल्छ या दिन मिल्छ र ?
“आर्थिक लाभको लागि बिरामीको आवश्यकता, सामाजिक पृष्ठभूमि र आर्थिकस्तर केही नहेरी गरिने महँगो उपचार कदापि चिकित्सकीय इथिक्सभित्र पर्दैन ।”

यस्तो कुराप्रति धेरैजसो सेवाग्राही अनभिज्ञ भए तापनि कत्तिलाई थाहा नभएको पनि होइन । चिकित्सक र चिकित्सा क्षेत्रकै व्यक्तिहरूले बिरामीको आवश्यकतालाई भन्दा आफ्नो आर्थिक लाभलाई बढी ध्यान दिने यो कार्य मानवसेवाकोे विरोधमै हो र धार्मिक हिसाबले भन्ने हो भने पाप नै हो । बिरामी भनेको चिकित्सकलाई भगवान नै सम्झेर शरणमा आएका भक्तहरू हुन् । उसैलाई ठग्यो भने आफ्नो पेसामा कति इमानदारिता रह्यो र ? सबै चिकित्सकले सपथ नै लिएका हुन्छ कि म मानवताका लागि काम गर्छु । म बिरामीको रोगलाई राम्रोसंँग हेर्छु र आफ्नो ज्ञान, सीप र अनुभवले भ्याएसम्म निको पार्ने कोसिस गर्छु । यदि मैले सकिन भने पनि म बिरामीलाई हानि-नोक्सानी हुने कुरा केही गर्दिन । तर आर्थिक लाभका लागि बिरामीको आवश्यकता, सामाजिक पृष्ठभूमि र आर्थिकस्तर केही नहेरी गरिने महंँगो उपचार कदापि चिकित्सकीय इथिक्सभित्र पर्दैन ।

आज सरकारले दिने स्वास्थ्यसेवाको तुलनामा जिनी क्षेत्र धेरै नै महँगो भैसकेको छ । सरकारी अस्पतालमा रु. २५ मा बिरामी हेरिन्छ भने ती डाक्टरको क्लिनिकमा २५० तर वरिष्ठ भनिने चिकित्सकले रु. १२५० सम्म लिन्छन् । के यो मूल्यअनुसार सरकारीको स्तर न्युन हो त ? नेपालीको प्रतिव्यक्ति आय र स्वास्थ्यमा खर्च गर्नसक्ने क्षमता न्युन छ । सरदर एकजना बिरामी हुँदा उसको आफ्नै खल्तीबाट खर्च गर्नसक्ने क्षमता भनेको प्रतिवर्ष ६९ डलरमात्र हो वा करिब रु. ६५०० । यो क्षमताबाट कुन स्तरको सेवा लिन सक्छ ? होला, यो रकम कसैलाई अति न्युन तर अधिकांशका लागि सत्यता यही हो । स्वास्थ्य विमा नभएको देशमा कुनै बेला ठूलो रोग लाग्यो भने आफ्नो घरबार नै उठीबास भएका घटना छन् । उपचार खर्चले गर्दा कसैको छोराछोरीको शिक्षामै असर परेका छन् । उपचार खर्च सम्भवै नभएर घरमै बसिराख्ने पनि छन् ।
यदि रु. २५ उचित मूल्य हो भने २५० लिँदा १० गुणा बढी लिएको ठीक हो कि होइन ? यदि सरकारी बजेटबाट  चल्ने भएकोले वा बजार भाउ महंँगो भएको, चिकित्सकको कमाइ कम भएको मान्यता राख्नेे हो भने बिरामी हेर्ने मूल्य २५० ठीक हुनसक्छ  । तर १२५० चाहिँ ठीक हो कि होइन ? के ती वरिष्ठ चिकित्सक साँच्चै नै त्यति वरिष्ठ छन् कि वरिष्ठता स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा मूल्यबाट मात्र तुलना हुन्छ ? भिन्न-भिन्न मूल्यहरूले स्वास्थ्यसेवालाई भिन्न-भिन्न वर्गमा बाँडेको प्रस्ट्याउँछ । अनि गुणस्तरमा पनि फरकपना आउँछ र भेदभाव हुन्छ । गरिब बिरामी झन् बिरामी हुन्छ, समाजमा असन्तुलन हुन्छ, चिकित्सकका पनि व्यक्तिगत लाभ केही भए तापनि दूरगामी असर राम्रो हुँदैन । मानमर्यादा अनि सामाजिक प्रतिष्ठामा आँच आउँछ । समग्र रूपमा समाज तथा देशलाई राम्रो हुँदैन ।
चिकित्सक हुनका लागि आवश्यक चिकित्सा शिक्षा महँगो छ र तुलनात्मक रूपमा गाह्रो छ । चिकित्साशास्त्र अध्ययन गर्दा लाग्ने खर्चलाई यसमा गरिएको लगानीको रूपमा हेरिन्छ र त्यसैको प्रतिफल निकाल्ने विचार पनि गरिन्छ । तर विशुद्ध मानवसेवाको विषय भएकोले यसमा कहिले पनि प्रतिफलको आश गरिनु हँुदैन । प्रतिफललाई परिभाषित गर्ने नै हो भने दुःखमा परेका बिरामीको स्वास्थ्यलाभ गराउनु, रोगबारे जनचेतना जगाउनु, व्यक्ति, परिवार, समाजलाई स्वस्थ बनाउन आफूले जिम्मेवारी लिनुलाई प्रतिफल मान्नुपर्छ । आज यस्ता जिम्मेवारी लिएर काम गर्दै समाजमा धेरै ठूलो देन पुर्‍याएका थुप्रै चिकित्सक पनि तपाई-हामीसामु छन् । उनीहरूको पाइला कठिन होलान््, तर सन्तोषजनक र उच्चकोटीका छन् । तर यस्तै काममा बढ्नु चिकित्सकको धर्म हो ।
अहिले यो सोच्नैपर्छ कि कसरी स्वास्थ्यसेवा गुणस्तरीय र सर्वसाधारणले उपयोग गर्नसक्ने समान मूल्य र स्तरीय बनाउने ? धनी, गरिब, ठूलो, सानो, चिनेको, नचिनेको सबैको पीडा एउटै हो, संवेदना एउटै हो, दुःख एउटै हो । यसको समाधान पनि एउटै हुनुपर्छ । तसर्थ चिकित्सा क्षेत्रमा काम गर्ने सबै संस्था, अस्पताल, क्लिनिक, स्वास्थ्यकेन्द्रले समान किसिमको गुणस्तर र मूल्य तोकी सेवा दिनु अति आवश्यक भएको छ । सरकारी स्वास्थ्यकेन्द्रलाई गुणस्तरीय बनाउने र निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्यकेन्द्रमा जथाभावी लिने गरिएको चर्को शुल्कलाई कम गर्नुपर्ने चुनौती छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलको ध्यान सरल र सुलभ स्वास्थ्यसेवा, इथिकल प्राक्टिस छ कि छैन भन्नेतिर बढी जानुपर्छ । नकि आवश्यकताभन्दा बढी मेडिकल कलेजमा ।

कान्तिपुर दैनिक बाट

Comments

Popular posts from this blog

चुरोट ठूलो कि रक्सी ?