दीर्घरोगी के हो? Shall we redefine Chronic Disease?
के दीर्घरोगीको परिभाषा फेर्न मिल्छ ?
-
, काठमाडौ
चैत्र १३, २०७०-
'ला तपाईंलाई त सुगर भएछ है ? अब त खान पनि गाह्रोपर्ने भयो । यो रोग त साह्रै नराम्रो, औषधी पनि जिन्दगीभर खानुपर्छ ।' आदि-इत्यादि सुनिन्छ । यदि कसैलाई मधुमेह रोग देखापर्यो भने यस्ता अनेकन कुरा सुन्नुपर्छ । त्यसमाथि चिकित्सकलाई देखाउन जाँदा औषधोपचार राम्रोसँग गरुन् भन्ने उद्देश्यले भए पनि यसबाट हुनसक्ने सबै नकारात्मक असरहरू भनिदिन्छन् । अनि रोगको प्रकृति अनुसारको शरीरलाई हुने असरभन्दा बेसी मानसिक रूपमा तनाव बढ्ने सम्भावना हुन्छ । साथै कसैले फलानो चिनी रोगको बिरामी भनिदिँदा त बिरामीको पहिचान नै फरक भैसक्छ । समस्या थाहा नपाउँदासम्म एउटा पहिचान बोकेको व्यक्ति शारीरिक समस्या वा कुनै असाधारण लक्षण हुनासाथ अर्को पहिचान पाउँछ । जस्तै- मुटुको रोगी, दमको बिरामी, क्यान्सर लागेको व्यक्ति, प्यारालाइसिस भएको, खुट्टा भाँच्चिएको मान्छे, अपरेसन गरेको दिदी आदि । यद्यपि यस्तो खालको विशेषणलाई हाम्रो समाजले साधारण रूपमा लिन सक्लान्, तर प्रत्यक्ष सरोकार राख्ने व्यक्ति वा उसको परिवारलाई यो असामान्य हुनुका साथै नकारात्मक पनि हुनसक्छ ।
के कसैलाई कुनै दीर्घरोगको लक्षण देखापर्यो भन्दैमा तुरुन्तै रोग लाग्यो वा बिरामी भयो भन्न आवश्यक छ त ? सायद यस्तो भयो भने त हाम्रो समाजमा करिब-करिब सबै नै बिरामी भन्दा पनि फरक नपर्ने हुनसक्छ । अहिलेको परिस्थितिमा हेर्ने हो भने एक तिहाइ सहरी जीवन बिताइरहेका वयस्कमा उच्च रक्तचाप छ । करिब दस प्रतिशतलाई मधुमेह छ । धेरैजसो गाउँका बुढापाकाहरूलाई दमको रोग छ । कतिलाईर् माइग्रेन छ । २० देखि ३० प्रतिशत व्यक्तिलाई कुनै किसिमको मानसिक रोग हुनसक्छ । मृत्युको दोस्रो ठूलो कारण नै क्यान्सर भएको छ, यस्तै-यस्तै । र यसको मतलब के हामी अधिकांश व्यक्ति रोगी, बिरामी नै हौं त ? कोही अहिलेसम्म स्वस्थ छु भन्ठानेे पनि भरे रक्तचाप हेर्दा उच्च देखिन सक्छ, भोलि दुर्घटना पर्न सक्छ, पछि कोलेस्टेरोल बढ्न सक्छ आदि ।
कतिपय रोगको कारक तत्त्वहरू निरोगी व्यक्तिहरूमा भैराख्छन्, तर थाहा हँुदैन । जस्तै- उच्च रक्तचाप नजँचाएसम्म थाहा हुँदैन, रगतमा धेरै चिल्लो पदार्थ रगत नजँचाएसम्म थाहा हुँदैन । धूमपान एक हिसाबले साधारण रूपमा लिइन्छ, तर त्यसको परिणति धेरै रोग हुनसक्छ । यस हिसाबले लक्षण देखिएर उपचार गराइराखेका व्यक्तिभन्दा लक्षण नदेखिई रोगका कारक तत्त्व बोकेका व्यक्तिहरू सामान्य माने पनि दीर्घरोगी बन्न सक्छन् । यही कुरालाई हामीले यसरी हेर्दा कस्तो होला ? उदाहरणका लागि हृदयाघात भैसकेको व्यक्तिलाई नै लिऔं । हृदयाघात भइसकेर उपचाररत व्यक्तिलाई हेर्यौं भने हरेक दिन औषधी खानुपर्ने, चिकित्सकको सल्लाहअनुसार धेरै गाह्रो काम गर्न नहुने, फलफूल, सागसब्जी धेरै खाने, चिल्लो—चाप्लो, धेरै नुन खान नहुने, चिन्ता धेरै गर्न नहुने, कुनै दिन फेरि हृदयाघात हुनसक्ने वा 'हार्टफेल' हुनसक्ने आदि कुरा पक्कै होलान् । तर आज हामीकहाँ हृदयाघात भैसकेका कैयन यस्ता व्यक्ति छन्, जो आफ्नो दैनिकी राम्रो तरिकाले सामान्य बिताइरहेका छन् ।
हृदयाघात भैसकेका चिकित्सक पनि छन्, व्यापारी पनि छन्, पाइलट पनि छन्, इन्जिनियर पनि छन्, राजनीतिज्ञ पनि छन्, नीति निर्माता पनि छन्, कानुनविद पनि छन्, समाजसेवी पनि छन् । सबैका आ—आफ्ना कार्यहरू छन्, दैनिक तालिका छन् । बिहान उठ्छन्, नित्यकर्म गर्छन्, धेरै-थोरै शारीरिक व्यायाम गर्छन्, चिया पिउँछन्, औषधी लिन्छन्, कसैले खाना खान्छन्, कोही ब्रेकफास्ट गर्छन् । तत्पश्चात आ—आफ्नो काममा जान्छन् । काम आ—आफ्नै प्रकृतिका छन्— कसैका हातको सीपको त कसैको दिमागको तर सबैको आफ्नै लक्ष्य तथा कर्तव्य अनुसारका कार्य गर्छन् । कहिले तनाव होलान्, कहिले खुसी तर उपलब्धिमूलक नै काम गर्छन् । दैनिक कार्यपश्चात घर आउँछन्, शरीरलाई उचित अनुसारको खाजा खान्छन् वा दिउसोको 'लन्च' । केही बेर आराम गर्छन्, अनि आवश्यकताअनुसार परिवारसँंग मनोरञ्जन वा आफ्नै कामको निरन्तरता वा सामाजिक कार्य वा यस्तै-यस्तै । बेलुकाको खाना खान्छन्, फेरि औषधी लिन्छन्, अनि सुत्छन् र मस्त निदाउँछन् पनि । यस बाहेक कहिलेकाहीं बीच-बीचमा केही गाह्रोसाह्रो पर्यो भने चिकित्सकको सल्लाह लिन्छन् र औषधीमा फेरबदल गर्छन् । के यस्ता व्यक्तिहरू र निरोगी व्यक्तिहरूमा तात्त्विक भिन्नता छ त ? सायद छैन कि ?
कतिपय रोग छोटो समयमै पुरै निको हुन्छ । कतिपय हप्ता, महिना दिन लाग्न सक्छ । छोटो र अलि लामो समय लाग्ने रोग उदाहरणका लागि रुघाखोकी, टाइफाइड, हेपाटाइटिस, पित्तथैलीमा पत्थर जुन अपरेसन गरेर झिक्नुपर्छ । हाड भाँच्चिएको, क्षयरोगजस्ता रोगहरू समय-सीमासम्म पुरा उपचार गरेपछि पुरै निको हुन्छ र फेरि स्वस्थ भन्न सजिलो हुन्छ । लामो समयसम्म लाग्ने रोग जस्तै- हृदयरोग, मधुमेह, उच्च रक्तचाप, कुनै—कुनै क्यान्सर, स्वाँस्वाँ आउने सीओपीडीजस्ता रोगले व्यक्तिलाई छुट्टै पहिचान दिने सम्भावना हुन्छ । कहिलेकाहीं अस्पतालमा भर्ना हुनासाथ चिकित्सकहरूले बिरामीको नामको सट्टा रोग, बेड नम्बर, वार्ड, उमेर, लिंगको आधारमा पहिचान बनाइदिन्छ । जस्तै- हेड इन्जुरी भएको बिरामी, १०२ नं.को बिरामी, मेडिकल वार्डको अधबैंसे महिला, डेलिभरीपछि व्लिडिङ नरोकिएकी महिला । के यस्ता पहिचान दिनु ठीक छ र ? पक्कै छैन ।
कहिलेकाहीं कोही व्यक्ति बिरामी हुनासाथ सहानुभूतिका लागि अलि धेरै अस्वस्थता पनि व्यक्त गर्न सक्छन्, तर दीर्घरोगी हुन सायद कोही पनि चाहँदैनन् । कोही पनि स्वास्थ्य समस्या लिएर चिकित्साकर्मीकहाँ आउँदा यो रोग, त्यो रोग, यो बिरामी, त्यो बिरामी भनी पहिचान दिनुभन्दा व्यक्तिको नामले बोलाउने, सामाजिक बोलीचालीको भाषा अन्तर्गत आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी भनी सम्बोधन गर्दा धेरै सजिलो महसुस गर्छन् । व्यक्ति व्यक्तिको रूपमै निरीक्षण र निदान गरी तिनको पारिवारिक, सामाजिक, आर्थिक पक्षहरूलाई ध्यान दिई उपचार गर्न सक्यो भने रोग कम हुन मद्दत पुग्छ ।
डा. कोजु धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ हुन् ।
प्रकाशित: चैत्र १३, २०७०
Comments
Post a Comment