मेरो धुलिखेल, राम्रो धुलिखेल My beautiful Dhulikhel
मेरो धुलिखेल, राम्रो धुलिखेल
धुलिखेलमै आँखा खोलेर यही ठाउँमा १५ वर्षसम्म बिताइ प्रारम्भिक शिक्षा प्राप्त गरेँ । अर्काे १० वर्ष चिकित्सा शिक्षा अध्ययन र गाउँ तथा सहरमा चिकित्सासेवाको अनुभव गरेँ । त्यसपछि फेरि २० वर्ष आफ्नै जन्मथलो धुलिखेलमा कार्यरत रहन पुगेँ ।
धुलिखेललाई मैले कसरी बुझेँ त ? यही अनुभवका आधारमा विगत तथा वर्तमान र भविष्यको बारेमा छोटो चित्रण गर्ने जमर्काे गरेको छु ।
बाल्यावस्थामा धुलिखेल मलाई स्वर्ग लाग्थ्यो । सानोमा सुनेको, पढेको आधारमा संसारको सबैभन्दा राम्रो ठाउँ नै यही हो भन्ने लाग्थ्यो । सुन्दर हिमाल देखिने, पुस–माघको जाडोमा पनि न्यानो घाम लाग्ने, चैत–बैशाखमा लालिगुराँस फुल्ने र काफल पाक्ने, ठूलो वनबाट ल्याइएको सार्वजनिक धाराको स्वच्छ खाने पानी, साताको १ पल्टमात्रै भए पनि जंगल भएर बग्ने पानीमा नुहाउने, २००६ सालमै स्थापित अनि जिल्लाकै श्रेष्ठ स्कुलमा अध्ययन, बत्तीको उज्यालोमा पढ्न पाइने, घरको सुखदुःख थाहा नभए पनि १ छाक मिठो पिठो खान पाइने, बुवा वर्ष दिन घरबाहिर भए पनि हजुरआमा, आमा, दाजुदिदीहरूको माया पाइने । वर्षको २–३ पल्टमात्र किन नहोस्, बुवाको माया, जनकपुरको आँप, लिच्चीको स्वाद लिन पाइने, बुवाको आगमनमा काउलीको तरकारी खान पाइने, साथीभाइसँग लुकामारी, डन्डीबियो खेल्न पाइने, पुस–माघको जाडो बिदामा धुलोले सबै हात पटपट फुटे पनि गुच्चा खेल्न पाइने, घरबाहिर टाढै जानु परे पनि साथीसँग गफ गरेर शौच गर्न पाइने, आमा–दिदीहरूले साताको एकपल्टमात्र खोलामा धोएको लुगा पुरानै भए पनि सफा लगाउन पाइने अवस्था कसरी बिर्सन सकिएला ! बारीमा गएर खेल्न पाइने, मुला, साग खान पाइने, पानी पर्दा बाटैभरि फोहोर पानी बगाएर ल्याए पनि भिज्दै त्यही पानी खेल्ने, पेट दुःखे पनि दिसामा जुका आएपछि सन्चो हुँदा रमाइलो लाग्ने, ज्वरो आयो भने झन् न्यानो बनाएर दूध–बिस्कुट खान पाइँदा रमाउने आदिइत्यादि सारै नै रमाइलो लाग्थ्यो । यथार्थमा यी मिठा क्षणमा धेरै तिता सत्य आपूm ठूलो भएपछि बुझ्न थालेँ ।
आमाको काख न्यानो, प्रकृतिको प्यारो वरदान अपरम्पार, तर मानव निर्मित विकासका पूर्वाधार न्यून । तापनि धुलिखेल, धुलिखेल नै थियो जन्मभूमि, मातृभूमि, प्रारम्भिक शिक्षाको भूमि । म कसरी भुल्न सक्थेँ र ! स्कुले जीवनपश्चात् उच्चशिक्षाको लागि लागियो काठमाडौँतिर । विभिन्न उतारचढावका साथ, सहरनजिक भएर पनि गाउँले जीवनको अनुभवसँगै धेरै अच्चमका कुरा सिक्न–जान्न पाइयो । अंग्रेजी सिनेमा, अंग्रेजी गीत, उपन्यास, बोर्डिङ स्कुल, देश–विदेशका कुरा, खाना, घडी, कपडा आदिइत्यादि धेरै चिज नौलो । काठमाडौँका गल्ली चहार्नेदेखि नेपाली भाषामा विज्ञान पढेको केटोले एकैपल्ट अंग्रेजी माध्यमको साइन्स पढ्दाको कष्ट कम रोमान्चक रहेन !
बुवाको इच्छा जसरी भए पनि कम्पाउन्डर बनाउने थियो, अतः पढियो विज्ञान विषय । त्यसपछि हेल्थ असिस्टेन्ट । बुवा बित्नुभयो—आपूm कम्पाउन्डर बनेको देखाउनै पाइनँ । लागियो हेल्थ असिस्टेन्ट बनेर गाउँको सेवा गर्न वाग्लुङतिर । वाग्लुङले धेरै सिकायो–जिन्दगीका मोडबारे । सुख, दुःख, एकान्त, समाज, गरिबी, अभाव, स्वास्थ्य, उन्नति, विकास, खाँचो, चुनौती आदि । तत्पश्चात् फेरि पढ्न पाइयो नेपालको एकमात्रै चिकित्सा शास्त्र अध्ययन संस्थान– महारजगन्जमा डाक्टरी, एमबीबीएस । काठमाडौँमै पढ्न पाएपछि फेरि मौका मिल्यो धुलिखेल आउजाउ, सातामा एकपल्ट । यो समयमा आफ्नो ज्ञान र अनुभवका आधारमा आफ्नै दृष्टिकोणको धुलिखेलका परिवर्तन महसुस गर्न पाइयो ।
धुलिखेलमा घरघरमा चर्पी आइसकेको थियो । पर्याप्त पानी । सडकहरू ढुंगा विछ्याइ सम्मै भएका थिए । ढलहरू व्यवस्थित भएर कतै फोहर पानी नदेखिने । बिजुली बत्ती पहिल्यै थियो । थोरै भए पनि फोनलाइन सुरु भएका थिए । शिक्षाको लागि सरकारीबाहेकका स्कुल पनि खुल्न थालेका थिए । काठमाडौँ–धुलिखेल बस आधा घन्टाबाट घटेर १०–१० मिनेटमा जान्थ्यो भने पत्रपत्रिकाको उपलब्धता बढ्न थाल्याथ्यो । माथिका पूर्वाधार बनाउन दत्तचित्त भएर लागेका तत्कालीन प्रधानपन्च पछि नगर प्रमुख बेलप्रसाद श्रेष्ठ भने आफ्नै ठाउँ बनाउन सबै धुलिखेले लिएर अगाडि बढेको बढ्यै । उहाँलाई सहयोग गर्ने सबै धुलिखेले थिए । देशको राजनीतिमा धेरै फेरबदल भए, त्यसका सकारात्मक प्रभावमात्र धुलिखेलमा परे । विकास निर्माणमा कुनै राजनीतिक खिचातानी भएन । समस्या सधैँ छलफलबाटै समाधान भए ।
उहाँलाई साथ दिन आउनुभयो शिक्षा र स्वास्थ्य क्षेत्रमा एउटा नयाँ कार्यक्रम लिएर डा. सुरेशराज शर्मा र डा. रामकण्ठ माकजु । आधारभूत आवश्यकताका पूर्वाधार भए पनि चलायमान संस्थाहरूको अभावमा करिबकरिब सुख्खाजस्तै भइसकेको धुलिखेलको एउटा डाँडामा काठमाडौँ विश्वविद्यालय बन्यो भने अर्काे छाडिएको भीरमा धुलिखेल अस्पताल । आज यी दुई संस्था र यसका संस्थापक व्यक्तित्व अनि सारथी नगरप्रमुखको परिचय मुलुक र मुलुकबाहिर गराइ राख्नुपरेन । उहाँहरू त्रिमूर्तिले देखाएर छाडे– गरे के हुँदैन भनेर !
हो, धेरैजसो छिमेकीहरू काम, पढाइ, उन्नति–प्रगतिको सिलसिलामा राजधानी, देशका अरु ठाउँ तथा अन्य मुलुकमा पनि जान थालेका थिए । साथै, छिमेकी गाउँतिरबाट धुलिखेल बसाइँ सर्नाले जनसंख्यामा खासै कमी भने महसुस भएको थिएन । प्रकृतिको अनुपम उपहारसहित मानव निर्मित विभिन्न पूर्वाधार यहीँ छन्– स्वच्छ पानी, ढुंगे बाटो, ढल निकास, सञ्चारका माध्यम, प्रख्यात विश्वविद्यालय, सर्वसुलभ स्वास्थ्य सेवा, तुलनात्मक सुरक्षा, पर्यटकीय गन्तव्य । यी पूर्वाधारसँगै आज यहाँका हजारौँ व्यक्तिले गुणस्तरीय शिक्षा तथा प्रत्यक्ष, अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् र धेरैको आकर्षण पनि बढेको छ ।
छ भन्दाभन्दै पनि, छैनन् कतिपय पूर्वाधार । व्यवस्थित सडक, व्यवस्थित सहरीकरण, २४ घन्टा बिजुली, ऐतिहासिक सम्पदा संरक्षण, थप रोजगारीका सम्भावना, व्यवस्थित सुरक्षा आदि । केही चिज प्राप्तिपछि थप अपेक्षा गर्नु पनि प्राकृतिक नियम नै हो । धुलिखेलका साधारण जनता हुन् वा नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति, सबैले प्रश्न गर्छन्– अझ विकास कसरी गर्ने ?
भविष्यमा मानवजीवनलाई आवश्यक पर्ने सबै पूर्वाधार यहाँ हुनुपर्छ । सहरीकरणसँगै धुलिखेल काठमाडौँसित जोडिएको एउटा सानो सहर हुनेछ । धुलिखेल, बनेपा, पनौती एक भई एउटै नगरपालिका हुनेछ । यही ठाउँबाटै मित्र राष्ट्र चीन र भारत जोडिनेछ । राष्ट्रमात्र होइन अन्तर्राष्ट्रियस्तरबाटै शिक्षा तथा स्वास्थ्यमा धुलिखेल नमूना बन्नेछ । प्राकृतिकमात्र होइन मानव निर्मित विकास हेर्न पनि पर्यटक आउनेछन् । व्यवस्थित नगरको रूपमा परिमार्जन भई सबैले सिक्ने थलो बन्नेछ ।
व्यवस्थित सहरको रूपमा बिस्तार हुदाँ, आवश्यकताभन्दा बढी सहरीकरण हुने छैन, नियम–कानुन नमान्ने नागरिक हुने छैनन्, काम नगरी बस्ने व्यक्ति हुने छैनन् । हरेक व्यक्ति शिक्षा, स्वास्थ्य तथा अत्यावश्यक पूर्वाधारवाट वञ्चित हुने छैनन् । यी परिवर्तन क्रमका भूत र वर्तमान खण्डमा साक्षी बस्न पाइ पछिल्लो खण्डको विकास क्रममा आपूm पनि धुलिखेल अस्पतालको जन्मदेखि मेहनत गर्न पाउँदा यति लेख्ने हिम्मत गरेको हुँ । यसैलाई मनन् गरी भविष्यको पनि कल्पना गर्न सकेको हँु । मिल्न सक्छ, नमिल्न सक्छ, तर राम्रोको परिकल्पना हरेक नागरिकले गर्नुपर्छ र त्यसमा सबै मिलेर निरन्तर अघि बढ्नुपर्छ । तबमात्र हामी गर्व गर्न सक्नेछौँ । हो, मेरै ठाउँ राम्रो । राम्रो खोज्दै भौतारिँदै हिँड्नु नपर्ने!
Comments
Post a Comment